2024-09-17 , Tuesday
२०८१ आश्विन १ गते मंगलबार

बँदेलले सखाप पार्‍यो 1000 रोपनीको मकैबाली

बँदेलले सखाप पार्‍यो 1000 रोपनीको मकैबाली

Sun 08, 2024

छत्रेश्वरी गाउँपालिका–५ को नयाँगाउँ, दियारगाउँ, कालीकोइराली, जुगेडाडा, बन्गाड कुपिण्डे नगरपालिकाको वडा नं ४, ५, ७, १२, कालिमाटी गाउँपालिका–७ को घुइयाबारी, हाउखोला, आम्बास, बाटुले, वडा नं १ को लक्ष्मीपुर, शारदा नगरपालिकाको सापमारालगायत स्थानमा लगाइएको मकैबालीमा क्षति पुर्‍याएको हो ।

बँदेलले छत्रेश्वरीमा सय, कालिमाटीमा तीन सय, बन्गाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा चार सय, शारदा नगरपालिकालगायत अन्यमा दुई सय रोपनी जग्गमा लगाएको मकैबालीमा क्षति पुर्‍याउँदा चार पालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी किसान प्रभावित भएका छन् । मकैको घोगा लाग्ने बेला हुल बाँधेर रातिमा आउने गरेका बँदेलले सबै सखाप पारेपछि गुजारा चलाउन समस्या हुने भन्दै किसान चिन्तित भएका छन् । किसानले राहतका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

बँदेलले आफूले ६ रोपनी जग्गामा लगाएको मकैबाली स्वाहा पारेको छत्रेश्वरी गाउँपालिका–५ नयाँगाउँका लालबहादुर भण्डारीले बताए । दिनभर बारीमा पहरा दिँदा पनि घोगामा गेडा लाग्न थालेको मकैबाली बचाउन नसकिएको उनले जनाए । ‘मकैबाली जोगाउन धेरै प्रयास गरियो । दिनभर बारीका ढिकमा बसेर टिन ठटाउने, आगो बाल्ने र बेलुकीपखसम्म हातहातमा लाठी समातेर पहरा दिँदै आएका छौं । तर रातिमा हुल बाँधेर आउने भएकाले मकै बचाउन सकिएको छैन,’ भण्डारीले भने ।

बँदेललगायत रतुवा, दुम्सीले जरैदेखि ढालेर घोगा खाई त्यत्तिकै नाश बनाएपछि काटेर गाईबस्तुलाई घाँसपातका रूपमा खुवाउने गरेको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका नन्दराम रोकाले बताए । ‘पाँच रोपनी जग्गामा उत्पादित मकैले तीन महिना सजिलै चार जनाको परिवारको खर्च टर्थ्यो । मकैबली स्वाहा बनाएपछि खर्च जुटाउन कठिन परेको छ,’ उनले भने । प्रत्येक वर्ष बँदेलले मकैलगायत अन्य बाली नाश गरिदिँदा पनि राहत पाउन नसकेको उनको भनाइ छ ।

स्थानीय किसानले चारैतिरबाट सामूहिक रूपमा मकैबाली जोगाउने प्रयास गर्दै आए पनि बचाउन नसकिएको बन्गाड कुपिण्डे नगरपालिका–५ का वडाध्यक्ष पिपर खत्रीले बताए । बँदेलले वडाका विभिन्न स्थानका किसानले लगाएको दुई सय रोपनीभन्दा बढी मकैबालीमा क्षति पुर्‍याएको उनले जनाए । पहाडका किसानको मुख्य बाली भनेको मकै नै हो । मकै उत्पादन गरेर वडाका किसानले चार महिना खर्च टार्दै आएका थिए ।

वडाका सबैजसो बस्तीका ७०/८० किसानले २ सय ५० रोपनीमा लगाएको मकैबाली क्षति पुर्‍याएको र बँदेलको आक्रमणबाट एक जना घाइतेसमेत भएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालको भनाइ छ । ‘सरकारले मकैबाली बँदेल तथा जंगली जनावरले क्षति पुर्‍याए डिभिजन वन कार्यालयमार्फत प्रतिरोपनी १० हजार दिने भने पनि राहत पाउन सकेका छैनन्,’ उनले भने । नजिकै निकुन्ज भएकाले बँदेललगायत अन्य जंगली जनावरको त्रासका कारण बाली लगाउने मात्र नभई किसान बस्ती छाड्दै बाहिर जान थालेको उनको भनाइ छ ।

बँदेलले मकैबाली क्षति पुर्‍याए पनि अहिलेसम्म कार्यालयमा एक जनाले पनि निवेदन नदिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले भने बताए । बँदेलले बाली क्षति पुर्‍याए पनि कार्यालयमा त्यस्तो कुनै कार्यक्रम नभएकाले राहत दिन नसकिएको उनले जनाए ।

जंगली जनावरले मकैबालीमा पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेकाले यकिन तथ्यांक नभएको डिभिजन वन कार्यालय सल्यानकी निमित्त प्रमुख गंगा त्रिपाठीको भनाइ छ । मकैबालीमा क्षति पुगेका किसानलाई कार्यालयले गतवर्षदेखि राहत उपलब्ध गराउँदै आएको उनले बताइन् ।